Close sidebar

आइतवारदेखि नेपालगञ्जमा हुन लागेको ‘दोस्रो वेष्टर्न ट्राभल मार्ट’को सम्पूर्ण तयारी पुरा

२०७९ माघ १४ गते, शनिबार २१:४३

नेपालगन्ज / आइतवारदेखि नेपालगञ्जमा हुन लागेको तीन दिने ‘दोस्रो वेष्टर्न ट्राभल मार्ट’को सम्पूर्ण तयारी पुरा भएको छ । पश्चिम नेपालका महत्त्वपूर्ण पर्यटकीय गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचा–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘दोस्रो वेष्टर्न ट्राभल मार्ट’को आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाइएको हो ।

यही माघ १५ गतेदेखि १७ गतेसम्म नेपाल पर्यटन बोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवर्द्धन मञ्च बाँके, होटल एशोसिएसन अफ नेपाल (हान) बाँके, होटेल ब्यवसायी संघ बाँके लगायत संघ संस्थाको सहकार्यमा दोस्रो वेष्टर्न ट्राभल मार्ट हुन लागेको हो ।

शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी मार्टले पर्यटन ब्यवसायीहरुको ब्यवसायिक विकास, विस्तार र अन्तराष्ट्रिय स्रोत बजारका टुर अपरेटर एवम् पर्यटन व्यवसायीसँग व्यवसायिक सम्बन्ध स्थापित गर्ने विश्वास लिइएको संयोजक श्रीराम सिग्देलले जानकारी दिनुभयो ।

मार्टमा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाइ)बाट कार्यकारी निकाय समेत ७५ जना भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती शहरका ४० जना टुर अपरेटर र आन्तरिक पर्यटन ब्यवसायीहरु करिब ३ सय जना महत्वपूर्ण ब्यक्तित्वको सहभागिता रहने उनले बताए ।

‘काठमाडौं उपत्यका लगायत सातै प्रदेशका पर्यटन ब्यवसायीहरुको ठुलो भेला तथा सम्मेलन भई स्थानीय सँस्कृती, टुर प्याकेज र लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटक आकर्षण गर्ने मुख्य उद्देश्यका साथ यो मार्ट सञ्चालन गर्न लागिएको हो,’ संयोजक सिग्देलले भने ।

वेष्टर्न ट्राभल मार्टमा सहभागी भारतीय टुर अपरेटरहरु र नेपालका पर्यटन ब्यवसायी समेतको सहभागितामा पहिलो पटक कैलाश मानसरोवर दुरदर्शनका निम्ति हवाई कम्पनी बुद्ध एयरसँग सम्झौता पनि गरिसकेको आयोजकले जनाएको छ ।

‘यसले पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य तथा ठुलो बजारका रुपमा स्थापित नेपालगन्ज मात्र नभई सिंगो नेपालको पर्यटकीय क्षेत्रका लागि नै कोषेढुंगाका रुपमा स्थापित हुनेमा विश्वास लिएका छौं,’ सिग्देलले भने ‘त्यसका लागि पहिलो चरणमा भारतीय मुलधारका प्रमुख सञ्चार माध्यममा आवद्ध ९ जना भारतीय पत्रकारसहित ६६ जना ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया(टाई)का प्रमुख पदाधिकारीहरु कैलाश मानसरोवर दर्शनका लागि निश्चित गरिसकेको अवस्था छ ।’

ट्राभल मार्ट आयोजनाले पश्चिम नेपालका पर्यटकीय गन्तव्य तथा गतिविधीको प्रचार-प्रसार हुन गई कैलाश मानसरोवर दुरदर्शन समेतका लागि माउन्टेन फ्लाइट नेपालगन्जबाट सुरुवात गराई पर्यटक आगमन संख्या बढ्न जाने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

यसैगरी नेपालगन्जस्थित प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा ‘महाआरती’ थालनी गरिने भएको छ । त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकाले महत्वपूर्ण साझेदारी गरेको बताइएको छ । बागेश्वरीमा गरिने महाआरतीले निरन्तरता पाउने कुरामा विश्वास दिलाउँदै यसले नेपालगन्जलाई धार्मिक पर्यटकीय दृष्टिकोणले एउटा महत्वपूर्ण गन्तव्यका रुपमा पूर्वाधार थपिने कुरामा ठुलो आशा पलाएको पर्यटन ब्यवसायी बताउँछन् ।

ट्राभल मार्टका सञ्चालनका क्रममा कर्णाली नदीमा र्याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनुभव प्रदान गरिने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका, हान बाँके, पर्यटन प्रवर्द्धन मञ्च बाँके, सञ्चारकर्मीहरु, पर्यटन व्यवसायी लगायत सबैको हातेमालो रहने आयोजकको विश्वास छ ।पत्रकार सम्मेलनमा वेष्टर्न ट्राभल मार्टका संयोजक सिग्देल, सदस्य सचिव कृष्णप्रसाद श्रेष्ठ, हानका दिवाकर खनाल, बुद्ध एअरका विनित शाह लगायतले कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया