नेपालगन्ज / इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो चार्ड ईद–उल अजहा (बकराईद) पर्व देशभरी आज धुमधामका साथ मनाईदैँ छन् । ईद–उल अजहा (बकराईद) पर्व इस्लामिक पात्रो अनुसार अन्तिम महिना जिल्हिजको दशौं दिन मनाईने धार्मिक मान्यता रहेको छ ।
इस्लाम धर्मावलम्बी तथा हजरत मोहम्मद सल्लललाहु अलैहे वसल्लमका पुर्खा हजरत इब्राहिम अ. सलामको बलिदानको सम्झनामा ईद–उल अजहा (बकराईद) पर्व मनाईन्छ । तीन दिनसम्म मनाईने बकराईद पर्वलाई विशेषगरी मासुको परिकार खाने पर्वको रुपमा पनि चिनिन्छ ।
बकराईद पर्वको अवसरमा आइतबार बिहान साढे सात बजेतिर मुस्लिम समुदायले नेपालगन्जको स्थानीय विपी चोकस्थित ईदगाहमा पुगेर सामुहिक रुपमा ईद–उल अजहाको नमाज पढेका छन् । सामुहिक नमाजमा मुलुकमा सुख, शान्तिको लागि प्रार्थना समेत गरिएको थियो ।
सामुहिक नमाजमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राई सहभागी हुनुहुन्थ्यो । नमाजपछि मन्त्री राईले शुभकामना अदान प्रदान दिने क्रममा बकराईद त्याग र बलिदानको पर्व भएकाले देश बिकासमा पनि सबैले आफ्नो तहबाट त्याग र बलिदान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
ईद–उल अजहा (बकराईद) पर्वको शुभकामना आदान प्रदान गर्ने ब्यक्तिहरुको विपी चोकस्थित इदगाह अगाडि ठुलो संख्यामा उपस्थिती रहेको थियो । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राईले, निबर्तामान मेयर डा. धवल सम्शेर राणा, पुर्व सांसद, स्थानीय तहका जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रतिनिधी, नागरिक समाजका अगुवा, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
यसैबीच बाँकेको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले पनि इस्लाम धर्मावलम्बीहरूलाई ईद–उल अजहा (बकराईद) पर्वको शुभकामना आदान प्रदान गर्नुभएको छ ।
बुढियागाउँस्थित ईदगाहमा नमाज पढेर अध्यक्ष खाँले मुस्लिम समुदायको ईद–उल अजहा (बकराईद) आपसी भाईचारा र सदभावका साथ मनाउन अपील गर्दै बाँकेका सम्पुर्ण मुस्लिम समुदायमा शुभकामना आदान प्रदान गर्नु भएको हो ।
सो अवसरमा पिछडिएका समुदायका महिला तथा युवालाई शिक्षित, स्वस्थ बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै ईद–उल अजहा (बकराईद)ले अझै बलियो र मजबूत सदभाव र भाइचारको सम्बन्ध कायम होस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
