कोलम्बो / श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवास कब्जा गरेका छन् । देशका विभिन्न स्थानबाट, बस, ट्रक, रेल र कार चढेर राजधानी कोलम्बो पुगेका हजारौँ प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
प्रदर्शनकारीले निवास घेर्न थालेपछि राष्ट्रपति राजापाक्षेलाई सेनाले सुरक्षित ठाउँमा लगेको खबरमा उल्लेख छ । आजको प्रदर्शन आर्थिक संकट सुरु भएयताकै ठूलो भएको खबरमा उल्लेख छ । प्रहरीले सयौँ राउण्ड अश्रुग्यास र हवाई फायर गरेको छ ।
उनिहरुले राष्ट्रपतिले पारिवारिक व्यक्तिलाई मात्रै मुख्य पदमा नियुक्ति गरेको र आफ्नो स्वार्थको लागि देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् ।
२ करोड २० लाख जनसंख्या भएको श्रीलंका आर्थिक रुपमा टाट पल्टिएको छ । औषधि, इन्धन, खाद्यान्न लगायतका वस्तुको चरम अभाव भएको छ । नागरिक भोकमरीमा पुगेका छन्, विद्यालयहरु बन्द हुने क्रम बढेको छ ।
तस्बिर: एनडीटीभी
