Close sidebar

राप्ती नदीमा पानीको सतह बढ्न थालेपछि संवेदनशील क्षेत्रमा ‘हाइ अलर्ट’

२०७९ असार १५ गते, बुधबार १३:५७

नेपालगन्ज / मध्यरातबाट परेको अविरल बर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेपछि संवेदनशील क्षेत्रमा ‘हाइ अलर्ट’ (उच्च सतर्कता) अपनाइएको छ । मनसुन शुरु भै नदी खोलाहरुमा पानीको सतह बढ्न थालेपछि जिल्लामा हाइ अलर्ट जारी गरिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको हो ।

गएरातीबाट निरन्तर वर्षा भैरहेकोले जल मापन केन्द्र कुसुमले राप्ती नदीमा पानीको सतह बढिरहेको र चेतावनीको सतह नजिक पुगेको जनाइएको छ । चेतावनीको सतह बढ्दै गएपछि नदी तटिय क्षेत्रका बासिन्दालाई सजग रहन निर्देशन दिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

मध्यरातबाट परेको अविरल बर्षाले राप्ती नदीमा पानीको सतह बढिरहेको जल मापन केन्द्र कुसुमले जानकारी गराएकोमा अहिले पानीको सतह घटिरहेको जानकारी गराइएको छ । बुधवार बिहान साढे दस बजे राप्ती नदीमा पानीको सतह ३ दशमलव १५ मिटर पुगेको थियो भने १० बजेर ५० मिनेट जाँदा ३ दशमलव १८ मिटरमा झरेको छ ।

कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर पुगेमा चेतावनीको सतह र ५ दशमलव ४ मिटर भए खतराको सतह मानिन्छ । अहिले पानीको सतह घट्दै गए पनि वर्षा दिनभरि हुने अनुमान गरिएकोले सबैलाई हाई अलर्टमा राखिएको प्रजिअ खत्रीले बताए । उनका अनुसार बाढी र डुबानको उच्च जोखिम रहेका ठाउँहरुमा सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको र सबै ठाउँमा उच्च सतर्कता अपनाइएको छ ।

राप्ती नदीमा खतराको सतहमा पानी भए डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर लगायतका क्षेत्र डुवानमा पर्ने गरेका छन् । राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि नदी तटिय क्षेत्रका बासिन्दालाई सजग रहन सूचना जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

यस वर्ष बाढी र डुबानबाट बाँके जिल्लाका ५० हजार भन्दा बढी नागरिक प्रभावित हुने आकलन पहिले नै गरिसकेको बताइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया