नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बाँके क्षेत्र नम्बर २ मा मोहम्मद इश्तियाक राई विजयी भएर नेकपा एमालेलाई पहिलो जित दिलाएका छन् । एमाले नवप्रवेशी राईले ५ हजार ९४६ मतान्तरले विजयी भएर एमालेका निम्ति जितको खाता खोलेका हुन ।
राईले २४ हजार ६२८ मत प्राप्त गरेका छन । उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठले १८ हजार ६८२ मत ल्याएर प्रतिस्पर्धा गरेका थिए ।
नेपाली काँग्रेसका शुधान्सु कोइरालाले १७ हजार ५९६ मत प्राप्त गरि दोस्रो प्रतिद्वन्द्वी बने । गणनाभर अग्रता लिएका राईको जित एमालेका निम्ति ठूलै राहत बन्न पुगेको छ ।
एकल बहुमततिर लम्किरहेको रास्वपाले १२ स्थानमा जित हासिल गर्दा एमालेले खाता खोल्न समेत सकेको थिएन । नेपाली काँग्रेसले ४ र नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जित निकालेपछि बल्ल एमालेका निम्ति राईले खाता खोलेका हुन् ।
१३ स्थानमा मात्र अग्रता लिएको एमालेका निम्ति एकप्रकारले सान्त्वाना जित निकालेका राई नवएमाले हुन् । २०७४ सालदेखि विभिन्न दलमा रहेर राजनीतिक करिअर बनाएका उनी मनोनयन दर्ताको अघिल्लो दिन ५ माघमा एमाले प्रवेश गरेका थिए ।


