डुडुवा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ का सदस्य पदका उम्मेदवार मोहम्मद इश्तियाक राईले मतदाताका घर-घरमा पुगेर आफ्नो पक्षमा समर्थन जुटाउन अग्रसर हुनुभएको छ । मतदाताहरूसम्म पुगेर उहाँहरूका समस्या, आवश्यकता र चाहनाहरू सुन्न उम्मेदवार राई केही दिनयता घरदैलोमा सक्रिय रहनुभएको छ ।
बिहानैदेखि घरदैलोमा निस्कनु भएका राईले आज नेपालगन्जको वडा नम्बर १५ मा पर्ने सुइया पिप्रहवा, वडा नम्बर २१ मा पर्ने झगरपुर, मोहनपुर, गंगारामपुर्वा तथा डुडुवा गाउँपालिका वडा नम्बर २ मा पर्ने नयाँबस्ती, बाबाकुटी, रामनगर पाझा, वडा नम्बर ३ को उचवामा मतदातासँग साक्षात्कार गर्नुभयो ।
त्यस्तै वहाँले डुडुवाको वडा नम्बर ४ अम्रहवामा आयोजित कोण सभामा आफ्नो भनाई राख्नुभएको थियो । राईले यो निर्वाचनमा विकासमा पछि परेका ठाउँहरूको स्थानीय समस्या र आवश्यकतालाई बुझ्न महत्वका साथ मतदाताहरूसँग छलफल गरिरहनुभएको बताउनुभयो । उहाँले नीति-नियम र कानुनी सुधारमार्फत सम्बोधन गर्न सकिने स्थानीय सवालहरूबारे मतदाताहरूसँग सुझाव लिइरहनु सुनाउनुभयो ।
डुडुवाका धेरै बस्तीहरूमा नदी कटान र डुबानले निम्त्याएको समस्या गम्भीर छ । सयौं घरपरिवार बाढीले विस्थापित भएर झोरा जंगल क्षेत्रमा अस्थायी बसोबास गरिरहेका छन् । प्रशासनले डुबानबाट जोगाउन झोरा जंगल क्षेत्रमा स्थानान्तरण गरेपछि उनीहरू वर्षौंदेखि त्यहाँ बसिरहेका छन् । तर नेपाल सरकारले उनीहरूबारे निर्णय नगरीदिँदा यस क्षेत्रमा विकासका कामहरू हुनसकेको छैनन् ।
जग्गाको स्वामित्वको टुंगो नलाग्दा डुडुवा क्षेत्रमा सडक, पुल-पुलेसा, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा आधारभूत काम गर्न पनि सरकारी अनुमति मिल्दैन । त्यसैले यस क्षेत्रको जनजीवन तुलनात्मक रूपमा विकासको लाभ लिनबाट वञ्चित रहँदै आएको छ । राईले यहाँका मतदाताहरूका समस्या सम्बोधन र आवश्यकता पूरा गर्ने प्रतिबद्धता जनाउँदै आउनुभएको छ ।
वडा नम्बर ४ मा आयोजित कोण सभामा राईले डुडुवा गाउँपालिकाले असहयोग गर्दा यस क्षेत्रका सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या अल्झिएको आरोप लगाउनुभयो । उहाँले निर्वाचनपछि सुकुम्बासी, भूमिहिनहरूको समस्या समाधान हुने आश्वासन दिनुभयो ।
यता नेपालगन्ज वडा नम्बर १५ सुइया, पिप्रहवाका बासिन्दाले सडक र ढल निकासका लागि योजनाहरू ल्याउन उम्मेदवार राईलाई आग्रह गरेका थिए । घरदैलोका क्रममा राईले आफू निर्वाचित भएपछि यहाँको विकास निर्माणलाई प्राथमिकता दिने बताउनुभयो ।



