नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न ७ बुँदे निर्णय सार्वजनिक गरिएको छ । इस्लाम धर्मवलम्बिहरुको जारी पवित्र महिना रमजान र हिन्दु समुदायको फागु-पूर्णिमा अर्थात होली पर्वलाई मध्यनजर गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न उक्त निर्णय गरिएको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैंककमा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न हिन्दु, मुस्लिम , बौद्धधर्मका धर्मगुरुहरुसँगको छलफल अनुसार उक्त निर्णय गरेको जनाएको छ ।
प्रशासनले यस वर्ष तराई क्षेत्रमा मनाइने होली पर्व निर्वाचनको मौन अवधिसँग जोडिन सक्ने भएकाले घर–परिवार तथा आफन्तजनबीच मर्यादित रूपमा मनाउन आग्रह गरेको छ । पर्वका अवसरमा आयोजना हुने कार्यक्रम तथा सन्देश प्रवाह गर्दा ध्वनि प्रदूषण नगर्न र सामाजिक सद्भाव खल्बलिने गतिविधि नगर्न अनुरोध गरिएको सूचनामा भनिएको छ ।
यो महिनामा हिन्दु परम्परा अनुसार हुने वैवाहिक, व्रतबन्ध लगायतका कार्यक्रमहरूमा समेत अत्यधिक ध्वनि प्रदूषण नगर्न स्थानीय प्रशासनले सूचना मार्फत आह्वान गरेको छ । यसैगरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी आचारसंहिता पूर्णरूपमा पालना गर्न गराउन सबै राजनीतिक दलका उम्मेदवार तथा नागरिकलाई आग्रह गरेका हो ।
जिल्लाको विशेषतालाई दृष्टिगत गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै सरोकारवाला निकाय, स्थानीय तह तथा समुदायलाई सहकार्य गर्न प्रशासनले अनुरोध गरेको सुचनामा लेखिएको छ । यसैबीच पवित्र महिना रमजान र हिन्दु समुदायको फागु-पूर्णिमा अर्थात होली पर्वको अवसरमा जिल्ला प्रशासन कार्यालय बाँकेले शुभकामना व्यक्त समेत दिएको छ ।




