काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ मध्यपहाडी लोकमार्गमा पैदल हिँडिरहेका एक बालकलाई गाडीले ठक्कर दिंदा मृत्यु भएको छ । आइतबार दिउँसो करीब साढे १२ बजे सोलुखुम्बुदेखि काठमाडौ जाँदै गरेका ना.१ ज ४६२३ नम्बरको सुमोले ८ वर्षीय अशिक बयलकोटीलाई ठक्कर दिंदा मृत्यु भएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका बालकको गोलन्जोर स्वास्थ्य चौकीमा उपचारका क्रममा “उनको” मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतकको खुट्टा र टाउकोमा चोट लागेको चिकित्सकले जानकारी दिए ।
शिवरात्रीको अवसर पारेर मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने लामासोतीको सडकमा डोरी टाँगेर सवारीसाधन रोक्दै पैसा संकलन गर्ने क्रममा उक्त दुर्घटना भएको प्रत्यक्षदर्शी बताउँछन् । स्थानीयवासीका अनुसार गोलन्जोरको सिमानादेखि फिक्कलतर्फ करिब ५ किलोमिटर दूरीभित्र १३ स्थानमा डोरी टाँगेर बाल-बालिका सडक छेकेर पैसा संकलन गरेर बसेका थिए ।
सुमो चालक गोपाल भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा तीव्र गतिका कारण दुर्घटना हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
यसैगरी घटनापछि मृतकका आफन्त तथा स्थानीयको भीडले क्षतिपूर्ति र आवश्यक कारबाहीको माग गर्दै उक्त राजमार्ग अवरुद्ध गरेका थिए । पर्वका बेला सडकमा डोरी टाँगेर पैसा उठाउने कार्य अत्यन्त जोखिमपूर्ण हुने भएकाले आगामी दिनमा अभिभावक तथा सम्बन्धित निकायले यसलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने देखिन्छ ।
दुर्घटनामा परि मृत्यु हुनेप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकूल परिवारमा न्युज फ्ल्यास खबर परिवार समवेदना व्यक्त गर्दछ ।


