Close sidebar

बनाउने र जलाउनेबीचको फरक बुझ्नुस्ः पुर्व-मन्त्री राई

२०८२ माघ २६ गते, सोमबार २२:३४

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले देश बनाउने र देश खरानी बनाउनेबीचको भेद बुझ्न मतदाताहरूसमक्ष आग्रह गर्नुभएको छ । सोमबार वडा नम्बर २० मा आयोजित निर्वाचन केन्द्रित कार्यक्रममा उम्मेदवार राईले भदौ २४ गते देशका धरोहर र सरकारी संरचनाहरू जलाउनेलाई कहिल्यै माफी हुन नसक्ने भनाई राख्नुभयो ।‘म मैले यो–यो बनाएँ भनेर आउँदैछु । कोही देश खरानी बनाएँ भनेर आउँदैछन् । तपाइँ मतदाताहरू सचेत हुनुस्। दल र नेताहरूप्रति आक्रोश थियो भने आफैं फेरि किन दल खोलेर नेता बन्न आएको ? सोध्नुस्’, एमालेका उम्मेदवार राईले भन्नुभयो, ‘नेताहरूसँगको आक्रोशको बदलामा सरकारी संरचना र धरोहर जलाउनेहरूलाई माफ गर्न सकिन्न ।’

बाँकेमा मालपोत, राजश्व, भन्सार लगायतका सरकारी संरचना ध्वस्त पारिँदा गरिबले सबैभन्दा धेरै दुःख पाइरहेको पनि राईले बताउनुभयो । ‘नगरपालिका, भन्सार, राजश्व कार्यालय अनि मालपोत लगायतका संरचना जलाइँदा अहिले सबैभन्दा धेरै गरिबहरूले दुःख पाइरहेका छन् । लालपुर्जाको श्रेष्ता कायम गराउन ५ हजार रूपैयाँ तिर्नुपरिरहेको छ ।’, राईले भन्नुभयो, ‘राजश्व उठाउने संरचनाहरू ध्वस्त पारेर देश चलाउन चाहिने पैसा कहाँबाट आउँछ ?’

राईले वडा नम्बर २० मा रहेका सुकुम्बासीहरूलाई लालपुर्जा दिने प्रक्रिया अघि बढेको र निर्वाचन लगत्तै त्यो पूरा हुने आश्वासन पनि दिनुभयो । नेपालगन्जको सबैभन्दा ठूलो वडा नम्बर २० लाई राम्रो र सुविधायुक्त बनाउने प्रतिबद्धता जनाउनुभएका राईले नयाँ निर्माण गरिने भौतिक संरचनाहरूले स्थानीय स्तरमै रोजगारीको सृजना गर्नसक्ने गरी योजनाहरू अघि सार्न आफू तत्पर रहेको बताउनुभयो ।

राईले सोमबार नै वडा नम्बर २० का मतदाताहरूसँग घरघरै पुगेर भेटघाट पनि गर्नुभएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया