नेपालगन्ज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघर तथा प्रसिद्ध शक्तिपीठमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।
नेपालगन्जस्थित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले नगर परिक्रमा गरि सोमबार विहान ७ः३० बजेको शुभसाइतमा विशेष समारोहका बीच प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा फुलपाती भित्र्याइएका हुन ।
सो क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, मन्दिरका मूलमहन्त चन्द्रनाथ योगी, विभिन्न सुरक्षा अंगका प्रमुखहरु, नागरिक समाजलगायतको उपस्थिती रहेको थियो ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।



