नेपालगन्ज । ‘जेन–जी’ आन्दोलनको आडमा यही भाद्र २४ गते नेपालगन्जस्थित सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न दुई जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालगगन्ज उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालय लगायत विभिन्न सरकारी कार्यालय र सवारी साधनमा आगजनी, तोडफोड तथा लुटपाट गरेको आरोपमा नेपालगन्ज जयसपुरका शालिकराम पाठक र दीपक टमाटालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।
पाठक र टमाटालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक पातलीले बताउनुभयो । आन्दोलनको आडमा आगजनी, लुटपाट र तोडफोडमा संलग्न अन्य व्यक्तिहरुको पनि पहिचान गरेर पक्राउ गरिने डिएसपी पातलीले बताए ।
‘अहिलेसम्म दुईजना पक्राउ परिसकेका छन्, अन्य ब्यक्तिको पनि पहिचान गरेर पक्राउ गर्नेछौं,’ उनले भने । आन्दोलनको आडमा नेपालगन्ज र कोहलपुरमा सरकारी तथा व्यक्तिगत संरचनामा आगजनी, तोडफोड र लुटपाट गरिएको थियो ।


