काठमाडौं । भारतको जम्मू–कश्मीरको रियासी जिल्लामा रहेको प्रसिद्ध माता वैष्णो देवी मन्दिर जाने बाटोमा पहिरो गएको छ । मंगलबार दिउँसो अर्धकुँवारी गुफा मन्दिर नजिकै रहेको इन्द्रप्रस्थ भोजनालय छेउमा पहिरो जाँदा कम्तीमा ३२ जना भक्तजनको मृत्यु भएको हो । उक्त पहिरोमा परि करिब २० जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
त्रिकुटा पहाडको मार्गको ठूलो भाग भग्नावशेषले ढाकिएको छ । सेना, प्रशासन र उद्धार टोलीले हाल राहत तथा उद्धार कार्यलाई तीव्रता दिएको बताइएको छ । भग्नावशेषमुनि अझै कैयौं मानिसहरू दबिएको आशंका गरिएको छ । निरन्तर वर्षाका कारण जम्मू–कश्मीरका विभिन्न स्थानमा बाढी र पहिरोको अवस्था सिर्जना भएको छ।
जम्मूमा ओभरब्रिज भत्किनुका साथै विद्युत् तार र मोबाइल टावरमा क्षति पुगेको छ भने तीनवटा पुल क्षतिग्रस्त भएका जनाएको छ । अविरल वर्षाका कारण जम्मू डिभिजनका प्रमुख नदीहरू खतराको सतहभन्दा माथि बगिरहेका छन । सयौं प्रभावित स्थानीयहरू सुरक्षित स्थानमा सारिएका छन् ।
जम्मू–श्रीनगर राजमार्ग पनि रामबन नजिकैका करिब १२ स्थानमा पहिरोका कारण बन्द भएको छ । त्यस्तै, चक्की पुलमा आएको बाढी जस्तै अवस्थाका कारण जम्मू, उधमपुर र कटरा जाने १८ वटा रेल सेवा रद्द गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।


