Close sidebar

बिस्मिल्ला होटलका सञ्चालकलाई १ लाख रुपैयाँ सहित ६ महिना कैद सजाए

२०८२ भाद्र ७ गते, शनिबार २१:१६

नेपालगन्ज । बाँके जिल्ला अदालतले बिस्मिल्ला होटलका सञ्चालकलाई १ लाख रुपैयाँ जरिवाना सहित ६ महिना कैद सजाय सुनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ ईदगाह रोडस्थित बिस्मिल्ला होटलका सञ्चालक मोहम्मद उमर साइविरुद्ध दायर गरेको मुद्दामा अदालतले उनलाई दोषी ठहर गर्दै सो सजाय सुनाएको हो ।

बिर्यानी, कबाब र शोर्मा लगायतका खाने कुरामा अखाद्य हानिकारक कोलटार रङ्ग मिसाउने तथा फोहोर ठाउँमा मासु भण्डारण गर्ने होटल व्यवसायीमाथि खाद्य कार्यालय बाँकेका खाद्य निरीक्षक रामहरी लामिछानेले दायर गरेको सो मुद्दामा बाँके जिल्ला अदालतका न्यायधिश केशवराज चपाईको ईजलाशले फैसला सुनाउँदै प्रतिवादीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन,२०८१ को दफा ४२ (१) (ख) बमोजिम ६ महिना कैद र १ लाख रुपियाँ जरिवाना हुने ठहरिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३१ बमोजिम फैसला गरिएको अदालतले जनाएको छ ।

होटलको स्थलगत अनुगमन निरीक्षण गर्दा बिरयानी पकाउने ठाउँ खुल्ला रहेको, शौचालयसंग जोडिएको, अत्यधिक फोहोर अवस्था रहेको, झिंगा भन्केको पाइएको, फ्रिजमा अत्यन्त फोहोर (दूषित) अवस्थामा मासु भण्डारण गरेको, प्लाष्टिकका भाडामा खानेकुरा (प्याज, राइता, ब्रेडक्रीम, चिकन) भण्डारण गरेको, पकाएर खाने खाना बिरयानी र कवाबमा कोरटार रंगको प्रयोग गरेको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

यस्तै अनुगमनको क्रममा भण्डारण कक्ष अत्यन्त फोहोर पाइएको, खानेकुरा अव्यवस्थित गरि राखेको, कच्चा पदार्थ भण्डारण गर्ने स्थानमा नै फोहोर फाल्ने, थुक्ने लगायत गर्ने गरेको पाइएको जनाउँदै सो कार्यालयले गत वर्ष २०८१ जेठ पाँच गते बिसमिल्ला होटलका सञ्चालक मोहम्मद उमर साइ विरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा न्यायधिश चपाईको एकल ईजलाशले साइले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने काम गरेको ठहर गरि १ लाख जरिवाना र ६ महिना कैदको सजाय सुनाएको हो । सो मुद्दा सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले अघिल्लो आर्थिक वर्षमा ६ वटा मुद्दा अदालतमा दायर गरेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया