Close sidebar

इस्लाम धर्मावलम्बीले आज ‘शब–ए–बारात’ पर्व धुमधामका साथ मनाउँदै

२०८१ फाल्गुन १ गते, बिहीबार ०७:२५

मो. अरशद शेष राई✍️
नेपालगन्ज । इस्लाम धर्मावलम्बीले आज ‘शब–ए–बारात’ पर्व धुमधामका साथ मनाउँदै छन् । ‘शब–ए–बारात’ इस्लाम धर्मावलम्बीको एक विशेष पर्व हो, जुन इस्लामिक क्यालेन्डरको शाबान महिनाको १५ औं दिनमा मनाईन्छ । रमजान जस्तै इस्लाममा शाबान महिनालाई पनि धेरै पवित्र र आशिर्वादपूर्ण महिना मानिन्छ ।

‘शब–ए–बारात’मा इस्लाम धर्मावलम्बीले रातभर जाग्राम बसेर अल्लाहको इबादत (प्रार्थना) गर्ने, ईस्लामिक ग्रन्थ कुरान वाचन गर्ने, मस्जिदमा सामूहिक नमाज पढ्ने, फतिहा गराउने, मृत्यु भइसकेका पुर्खाहरुको सम्झनामा कब्रिस्तान (चिहानस्थल) मा गएर मृत्यु भएका आफन्त तथा नजिकका नातेदारका लागि दुवा (प्रर्थाना) गर्ने, गरिब दुःखीलाई दान दिने र एक दिन रोजा (व्रत) बस्ने धार्मिक मान्यता छ ।

एउटा हदीसमा छ कि इस्लाम धर्मका प्रवक्तक पैगम्बर हजरत मोहम्मद सल्लाहुअलैहे वसल्लमलाई शाबानको १५ तारिखमा जन्नतुल बाकीको भ्रमण गरेको देखिएको छ । त्यसैले ‘शब–ए–बारात’को रातमा नर्कका पीडित मुस्लिमहरुका लागि अल्लाहसंग प्रार्थना गर्छन् । ‘शब–ए–बारात’मा इस्लाम धर्मावलम्बीले आफ्ना मृत पुर्खाहरुको चिहानमा जान्छन्, तिनीहरुलाई सफा गर्छन्, फूल चढाउँछन्, धूप बाल्छन् र प्रार्थना गर्छन् ।

इस्लामिक धर्मगुरुका अनुसार ‘शब–ए–बारात’ का दिन चना, सूजी, बेसनसहितका हलुवा बनाई फतिहा गराउने चलन छ । ‘शब–ए–बारात’मा मस्जिद तथा कब्रस्तानलाई झिलिमिली बत्ती बाल्ने, नयाँ लुगा लगाउने, विभिन्न मिठा परिकार तयारी गरी धार्मिक धर्मगुरुहरुलाई घरमा बोलाई कुरआन खानी (कुरआन पढाउने), मिलाद गर्ने, गरिब विपन्नहरूलाई घरमा बोलाई मिठो परिकार खुवाउने तथा उनीहरूलाई दानदक्षिण दिने गर्छन् ।

‘शब–ए–बारात’मा गत वर्ष गरेको कामको लेखाजोखा र आउने वर्षका लागि योजना तय गर्ने गरिन्छ । यो रातमा धार्मिक क्रियाकलाप गरेको खण्डमा अल्लाह खुसी हुने र चिताएको पूरा हुनुका साथै विगतमा गरेका ‘पाप’बाट मुक्ति पाइने जन विश्वास रहेको धर्मगुरु हाफीज मोहम्मद राईसले बताउनुभयो । ‘शब–ए–बारात’ भनेको ईबादत (धर्मकर्म) को रात हो, यो रात मान्छेले जति धर्म गर्छन्, त्यो अन्य दिनको तुलनामा ७० गुणा बढी पुण्य पाउँछन् उनले बताए ।

इस्लाम धर्मावलम्बीले ‘शब–ए–बारात’ पर्वलाई ईस्लामिक पर्वको मुख्यद्वार पनि मान्दै आएका छन् । ‘शब–ए–बारात’ पर्वपछि इस्लाम धर्मावलम्बीका अन्य पर्व निरन्तर रुपमा एकपछि अर्को आउने भएकाले यस पर्वलाई पर्वको प्रवेशद्वार मानिएको हो । शब–ए–बारात पर्व सम्पन्न भएको १५ दिनपछि इस्लाम धर्मावलम्बीको पवित्र एक महिने रामजान पर्व सुरु हुन्छ । त्यसपछि ईद, बकराईद पर्व आउने गर्दछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया