नेपालगन्ज । आज दशैं अर्थात् विजयादशमी पर्व देशभर हर्षोल्लासका साथ मनाइँदैछ । मान्यजनबाट टीका र जमरा लगाएर शनिबार विजयादशमी पर्व मनाइँदै छ । आजको दिन पहिले देवी र त्यसपछि भगवान रामको पूजा गर्ने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ ।
विजयादशमीलाई नराम्रो माथि राम्रोको विजयको प्रतीक मानिन्छ । आजको दिन भगवान रामले रावणलाई जितेका थिए । त्यसबेलादेखि विजयादशमीका दिन रावणको पुत्ला दहन गर्ने चलन चल्दै आएको बताइएको छ । आज पनि देशका विभिन्न स्थानमा रावणको पुत्ला दहन गरिने भएको छ ।
नेपालगन्ज वडा नम्बर १३, स्थित रामलीला मैदानमा रावण दहनको तयारी गरिएको छ । विजयादशमीको घटस्थापनादेखि शुरु भएको ऐतिहासिक रामलीलाको १५७ औँ संस्करण अन्तर्गत आज १० औँ दिन विशेष रावणको पुत्ला दहन गर्न लागिएको हो । आज दिउँसो १ बजेदेखि तयारी अवस्थामा रहेकोे ५५ फिटको रावणको पुत्ला दहन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
रामलिला महोत्सवमा आज कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने कार्यक्रम रहेको रामलिला सन्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताउनुभयो । साँझ रावणको बधपछि राती १० बजेदेखि रातभरि रामलिला मञ्चन गरिनेछ । रामलिला आइतबार भरत मिलाप तथा शुभराज्यभिषेक गरेर सकिनेछ ।


