
काठमाडौँ । ब्राजिलको साओ पाउलो राज्यमा ६२ यात्रु सवार एक विमान दुर्घटना भएकाे छ । विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ । भिओपास एयरलाइन्सको दुई इन्जिन भएको टर्बोप्रोप विमान कास्काभेल सहरबाट साओ पाउलो सहरको मुख्य विमानस्थलतर्फ उडेको थियो । तर, विमान साओ पाउलोको भिन्हेडो भन्ने सानो सहरमा दुर्घटना भएकाे हाे ।
सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे उक्त विमान दुर्घटनाकाे भिडियोहरूमा विमानलाई आकाशबाट घुम्दै तल झर्दै गरेको र त्यसपछि कालो धुवाँको मुस्लो उडेको देख्न सकिन्छ । दुर्घटनास्थलमा प्रहरी र अग्नि नियन्त्रकहरू खटिएका छन् भने स्थानीय अस्पतालहरूलाई सतर्क गराइएको छ । प्रारम्भिक जानकारी अनुसार, विमान आवासीय भवनमा खसेको थियो ।
स्थानीय अधिकारीहरूले दुर्घटनामा कुनै पनि व्यक्तिको ज्यान जोगाउन नसकिएको पुष्टि गरेका छन् । भालिन्होस नगरपालिकाका अधिकारीहरूका अनुसार, विमानमा सवार ५८ यात्रु र ४ जना चालक दलका सदस्य सबैको मृत्यु भएको छ । अहिलेसम्म दुर्घटनाको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन, र विमानस्थलमा रहेको टोलीले अनुसन्धान गरिरहेको छ ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यस दु:खद घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “यो अत्यन्तै दुःखद घटना हो । पीडितका परिवार र साथीहरू प्रति मेरो हार्दिक सहानुभूति छ ।” विमान दुर्घटनाको सम्बन्धमा विस्तृत विवरण आउन अझै बाँकी छ । – बीबीसीको सहयोगमा
