
दाङ । तुलसीपुरमा घरको सिँढीबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका–३ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ (ङ) लाइनमा विगत एक महिना अघिदेखि कोठा भाडामा बस्दै आउनु भएकी ४२ वर्षीया तिला परियारको सिँढीबाट लडेर मृत्यु भएको हो ।
परियार बिहान साढे ७ बजेतिर सिँढीबाट लडेर गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा साढे ८ बजेतिर पुर्याइएको थियो ।
राप्ती प्रादेशिक अस्पतालले प्रारम्भिक उपचारपछि पौने ९ बजेतिर घाइतेलाई बाँकेस्थित मेडिकल कलेज कोहलपुरका लागि रिफर गरिदिएको थियो ।
बिहान साढे ११ बजे आफन्तले घाइतेलाई अस्पताल पुर्याएका थिए । तत्कालै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।
