
जानकी, बाँके / स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ राष्ट्रपति रनिङ शिल्ड तथा छैठौं विद्यालय स्तरीय अध्यक्ष कप प्रतियोगिता आजबाट शुरु भएको छ । बाँकेको जानकी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय आधारभूत कन्या विद्यालय मानपुरको खेलमैदानमा सोमबारदेखि शुरु भएको हो ।
जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजनामा माघ २२ गतेदेखि तीन दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन बाँके क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य एवंम् नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र पालिका अध्यक्ष छब्बन खाँले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियोे ।
उद्घाटन समारोहमा बोल्दै सांसद राठौरले विद्यार्थीहरुको पहिलो दायित्व भनेको पढ्नुपर्ने रहेको बताउँदै शरीर र मस्तिस्कलाई स्वास्थ्य राख्न खेलकुद महत्वपूर्ण कडी भएको बताउनुभयो । विद्यालय स्तरमा हुने यस्ता खाले प्रतियोगिताले खेलाडी उत्पादनमा समेत टेवा पुर्याउने उनले बताए ।
गाउँपालिका अध्यक्ष खाँले शिक्षा र खेलकुद विकासको लागि गाउँपालिकाबाट हुने सहयोगमा कुनै पनि कसर नराख्ने बताउनुभयो । उद्घाटन समारोहमा लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी लगायतका वक्ताहरुले पनि आफ्नो भनाई राखेका थिए । शिक्षा युवा तथा खेलकुद शाखा मानपुरका प्रमुख कृष्णाकुमारी भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा सभाध्यक्ष खाँलाई विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास गर्दै सलामी अर्पण गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार वर्मा, वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार वर्मा, ५ का वडा अध्यक्ष टिकानाथ यादव, ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजन, सामाजिक विकास समितिका संयोजक रामआचल धोवी, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक / कर्मचारी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता थियो ।
